सक्छु कि बिर्सन ?

समयसँगै स्मृतिहरु धुमिल भएर जाला,

एक अर्काको सामिप्यताको लत छुटेर जाला,

हाम्रो जिन्दगी भुगोलको छुट्टाछुट्टै किनारमा

आ – आफ्नै परिवेशमा बितेर जाला !

सम्झनै नआउनु , बिर्सिनु र बिर्सेको स्वाङ पार्नु

फरक फरक भावहरु हुन् ………….

जीवनको पहिलो हिउँदे झरी र हिमपातमा

सँगै रुझेको कसरी बिर्सन सक्छ मनले ?

हरेक दहिको कटेरोले सम्झाउने छ

सँगै जुजुधौको स्वाद लिएको !

त्यो साउने झरी … रुझ्दैभिज्दै

लङ्ड्राइभ गएको पनि याद आउँदैन र?

म त सम्झने छु हरेक चुरोटको ठुटाहरुमा तिमीलाई

जुका लाग्ने मौसम अनि जुनेली रातमा,

शीत पर्ने सुन्दर बिहानीहरुमा…

हिलाम्य सडक अनि धुलाम्य वातावरणमा

तिम्रो याद ठिङ्ग उभिएको हुनेछ

मेरो मानसपटलमा !!

त्यो पावरवाला चस्माभित्रको नशालु आँखा

टाढा हुँदा सँधै गर्ने झगडा ,नजिक हुँदा गर्ने

असीमित माया र स्नेह भुल्न सक्ला र यो मनले?

जीवनको त्यो सुन्दर पाटो

बिर्सिदेउ सक्छौ भने तिमी !!

तिमीले सम्झिन छोडेको क्षण

म पनि सक्छु कि तिमीलाई

बिर्सन ????

 

 

स्नानगृह

म स्नानगृह

चार भित्ता र एउटा ढोकाले

बनेको छु!

मेरो मालिकले भित्र 

धारा त जडान गरेका छन् 

तर पानी छोडेका छैनन्! 

कहिल्यै एक थोपो पानी

नझर्ने सुख्खा धारो र म

साक्षी हुन्छौं अनेक अनेक 

आकार र बनावटका

शरीरहरुको!!

मन कस्तो हुन्छ कुन्नी?

बाल्टीमा पानी बोकेर

तनको मैलो र फोहोर

पखाल्न चाहिँ आउँछन् मान्छेहरु!

बाहिर जस्तो भएपनि

स्नानगृहमा मान्छेहरु

निर्वस्त्र हुन्छन् !!

साझा स्नानगृह हुनुको

औचित्य के त भन्दा..

घरभरीको सबैको 

आवरणहीन काया

देख्न पाईन्छ…

अघि बिहानै एउटी व्रतालु

महिला नुहाएर 

चोखिएर गई!!

एकछिन पछि

अस्पतालमा जागिरे

नुहाएर शुद्ध भएर गयो!

दिउँसो तिर सरकारी

ठेकेदार नुहाएर 

मगमगाउँदै गयो!

अघि साँझमा 

घरबेटी साहुनी

बारीबाट आएर नुहाई

थकानमुक्त भएर गईन!

अहिले भर्खरै झमक्कै

रात परेपछी

ज्यामी काम गरेर फर्केकी

ठुली ज्यानको सिमेन्ट 

पखालेर स्निग्ध 

भएर गई!

त्यसको लगत्तै

एउटी क्याम्पस पढ्ने

तरुनी 

दिनभरी अरुसँग शरीर 

साट्दाको पसिना र गन्ध

मेटाएर गई!!

म स्नानगृह..

सबैको तनको मैलो 

आत्मसात गर्छु..

मनको मैलो फाल्ने

कहाँ हो कुन्नी??

प्रश्न उत्तर

तिमी याचक मायाको

र प्रश्न थियो 

किन गर्दिनौ स्वीकार 

मेरो प्रेम??

मेरो उत्तर प्रफुल्लित..

म तिमीलाई हृदयदेखि

गहिरो माया गर्छु र

गरिरहन्छु अनन्तकालसम्म!
तिमी मालिक अहंकारको 

र प्रश्न तिम्रो

किन तँसँग जोडिरहुँ 

सम्बन्ध यो बोझिल?

मेरो उत्तर अनायास..

तिम्रो खुशी जहाँ फल्छफुल्छ

त्यही जोड सम्बन्ध!
तिमी मुर्ति पश्चात्तापको

र प्रश्न तिम्रो

किन गर्दिनौ वास्ता मेरो??

मेरो उत्तर भावविहीन ..

तिम्रो 

बेवास्ता र बेरुखीले 

मर्‍यो त्यो मन

जसले तिमीलाई माया 

गर्ने गलती गरेको थियो!

म बिना

सोच्दैछु…

जिन्दगीदेखी सन्यास लिउँ

छोडिजाउँ ….

यो सांसारिक चोला

उडिजाउँ ….. 

अनन्त आकाशमा

स्वतन्त्र आत्मा बनी !!!

जब म रहन्न,

मेरो शरीर रहन्न

कसले गर्ला याद मलाई?

मेरो आवाज , 

मेरो शब्द

मेरो सुवास , 

मेरो छुअन

मेरो न्यानोपन , 

मेरो पागलपन

मेरा सबै क्रियाकलाप 

सम्झेर..

 लुकिलुकी.. 

सुस्तसुस्त..

कसले बगाउला आँसु ?

जब म शरीरबाट निस्केर 

आत्मा बन्नेछु र देख्नेछु

आफ्नै शवको चिरफार…

के दुख्नेछ मलाई??

जब जलाउनेछन 

मेरो मृत लाशलाई

के पोल्नेछ मलाई??

कि जल्नेछ मेरो मुटु

देखेर आफन्तका आँसु??

म बिना 

रोकिदैन कसैको

जीवनयात्रा..

मर्नेहरुसँग मरेर 

जान सकिँदैन

जीवन चलिरहन्छ

केही धुमिल स्मृती बोकेर

शुन्यपन भरिदै जाँदो हो

समयको पुटिङ दलेर

खल्लोपन रहला

मनको कुनै कुनामा

रित्तोपन दबाएर

तर पनि…

सबैको जिन्दगीले 

गति लिने नै छ

म बिना…..!!!!

तिमी नहुँदा

तिमी साथ थियौ

बाँच्ने उमंग थियो

अघि बढ्ने रहर थियो

लाग्थ्यो संसार जित्नेछु

तिम्रो भरोसामा!!

तिमी टाढियौ

मन खिन्न भयो

रोएर बिते धेरै कालखण्ड

र पनि 

तिमी हुनुको अहसास त थियो

अहं थियो केहि गरेर देखाउने

टाढैबाट भएपनि हेर्थ्यौ तिमीले

बाँचिन्थ्यो अदृश्य तिम्रो उपस्थितिमा

लाग्थ्यो लुकेर भएपनि हेर्थ्यौ कि??

आज जब तिमी छैनौ संसारमै

लाग्छ शुन्य शुन्य यो जगत

बाँच्नुको के सार रह्यो र जीवनको?

कसलाई देखाउनु गरेर प्रगती?

जब रहन्न उदेश्य केहि

बोझ लाग्ने गर्दछ जिन्दगी

हो! यस्तै बोझिल 

उदेश्यविहीन जिन्दगी

जिउँदै म……

तिमी नहुँदा!!!

बिदाई

समय… पंख लगाई उडिरह्यो
तिमीसँगको तितामिठा स्मृतिहरु
सम्झाउँदै…बिर्साउँदै!!

जीवन…मुकुण्डो भिरेर चलिरह्यो
सुस्त सुस्त आफ्नै गतिमा
अनेक रूप बदल्दै !!

मन … छट्पटीएर भौतारिरह्यो
कैयौं मायाका प्रतिबिम्बहरु
नियाल्दै !!!

सम्बन्ध… झुन्डिरह्यो
आशाको त्यान्द्रोमा घृणा
र क्षमाको लेप लगाउँदै!!

तर पनि…
बिर्सिन नसकेको सम्झना,
चल्न नछोडेको जीवन,
फर्किन नसकेको मन,
चुँडिन नसकेको सम्बन्ध,
सबै सबै थाती राखेर
अर्पण गर्दछु श्रद्धाञ्जली !!
बिदाई गर्दछु तिमीलाई!!
जाउ अनन्त शान्तिको पथमा!
नरोकोस्  कुनै बाधाले
तिम्रो आत्मालाई !!
जाउ सबै दु:ख बिसाई !
अनन्त अनन्त अनन्त
यात्रा पहिल्याई !!

बिदा ! बिदा ! बिदा !

लाईनै लाईन

घाम,पानी,शीत,
हावा हुन्डरी,
धुवाँ धुलो,होहल्ला,
सबै सबै सहेर
ग्यासको लाईनमा,
पेट्रोलको लाईनमा,
मट्टीतेलको लाईनमा,
डिजेलको लाईनमा,
उभिरहेको छ हाम्रो
आहत स्वाभिमान !!

आँखाभरी पानी,
निधारभरी धर्साहरु,
मनभरी सम्झना ,
मस्तिष्कभरि अन्योल,
हातमा झोला,
र खाडीको छाप
टाँसेको पासपोर्ट ,
बोकेर विमानस्थलमा
लाईन बसेको छ
हाम्रो अमुर्त देशभक्ति!!

देशको अस्तित्व ,
जनताको भविष्य ,
पाइला मुनि
कुल्चिएर,
आफ्नो स्वार्थको
लागि,
पैसा र कमिशनको
खेलमा,
नातावाद,
कृपावादमा अल्झेर,
सत्ता र कुर्सीको
लाईनमा छन्
नैतिकहीन नेताहरु!

नक्कली,सक्कली
शैक्षिक प्रमाणपत्र
र फोटोहरु बोकेर
भए नभएका
बैंक ब्यालेन्स
देखाउन ,
यो देश खत्तम भयो
अब को बस्छ यस्तो
देशमा?
भन्ने भाव बोकी
पिआर र डिभीको
लाईनमा बसेका छन्
पलायनवादी युवाहरु!!

बहुरूपी यादहरु

तिमीलाई ..
याद गर्दा
मरुभूमिको
तातो राप,
हिमाली हिउँ
खोलाको
चिसो बतास
बनिदिन्थ्यो!
आगो झैं रन्केको
बालुवाले
कोमल फूलको
आभाष दिन्थ्यो!!

तिम्रा शब्दहरु..
थकित शरीरमा
उर्जा भर्थे!!
निष्पट अँध्यारा
रातहरुमा,
तिम्रा यादका
जुनकीरीहरु
बाटो देखाउन
तम्सिन्थे!!

ढुक्क हुन्थे
परदेशमा..
परिवारप्रतिको
तिम्रो समर्पण
सम्झेर !!
मेरा बाआमाप्रती
तिम्रो सेवा र कर्तव्य
सोचेर!!
कति सपना…
भविष्यका योजना..
बिश्वासका धरहरा..
तिम्रै भरमा बुनिए,
बनाईए..
र ठड्याईए!!

तर………..
अपसोस..
निष्ठुरी तिमी !!!
सकिनौं राख्न
विश्वासलाई कायम
तोडिदियौ सबै..
सपनाहरु,आस्था
र विश्वासहरु!!

स्वार्थमा लिप्त
तिम्रो स्वार्थी मन..
धन र भौतिक
सुखको चाहमा
भौंतारिरह्यो..
कुन आवेग र
उन्मादको लागि
छोडिगयौ
अलपत्र पारी??

आजकल
तिम्रा यादहरु
आँसु बोकि
आउने गर्छन् !
पश्चात्ताप,रिस
र घृणा जगाउने
गर्छन् !!
मौनता र उदासीका
अन्तहिन रातहरु
ल्याउने गर्छन् !
मुटुको कुनाकुनामा
नमिठो दुखाईले
रेट्ने गर्छन् !!

तिम्रा बहुरूपी
यादहरु……
रूप फेरि फेरि
आउने
गर्छन् !!
र,
मन दुखाएर
जान्छन् !!

मेरो स्मृति

आफ्नो मनबाट
निकालेर
थोत्रा सामानहरुबीच
राखिदियौ कि?
माकुरोको जालोले
जेलिएको
धुलैधुलोले
भरिएको
बन्द कोठामा!!

राखिदियौ कि
काम नलाग्ने
बिर्सिईएका
कुराहरुबीच!
समयको बन्द
दराजहरुमा,
कुनै अनाम
आशँकासँगै,
कुनै अधुरो
कथासँगै!
जहाँ –
हराएका पत्रहरुमा
झरेका आँसुका
थोपाहरु झैं
चम्किने स्मृतिका
जुनकीरीहरु छन् !!

जहाँ –
सुखदुःखका
अनगिन्ती
पाटाहरु छन् ,
सुकेका फुलहरुमा
केही शीतका
थोपाहरु छन् ,
फुटेको चुरासँगै
कुनै साउनको
झरीमय
यादहरु छन् !!

जहाँ –
केही बाँझा
दिनहरु पनि
सुस्ताईरहेका छन्
टुटेका सपनाका
टुक्राहरु सँगै,
अनि केही
बचनहरु
जो
पूरा भएनन् !
भावनाका केही
ऋणहरु
जो
चुक्ता भएनन् !

यस्तै यस्तै
थोत्रा मसिना
जिर्ण
भग्नावशेषहरुसँगै
थन्काईदियौ कि??
मसँग जोडिएका
स्वप्नहरुलाई!!
कि गाडिदियौ??
मेरा स्मृतिहरुलाई!!
तिम्रै मनको
चिहानमा!!??